अविरल वर्षाले पाक्नै लागेको धान ढलेपछि भक्तपुरका किसान चिन्तित

nepalkuro.com

भक्तपुर– गएराति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् ।

धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षा र हावाहुरीले खेतमा पाक्न लागेको धान ढलेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने जोखिम बढेको किसानहरूको भनाइ छ ।

चाँगुनारायण नगरपालिका–५ छालिङका किसान सौगात गिरीका अनुसार राति परेको वर्षासँगै खेततर्फको खोलाको पानी पसेपछि धानबालीमा क्षति पुगेको हो । खोलामा लामो समयदेखि जम्मा भएको फोहोरसमेत खेतमा पसेपछि क्षति थप भएको उनले बताए ।

वर्षाका कारण खेतमा पानी जम्नुका साथै कतिपय स्थानमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धान ढलेर नष्ट भएको गिरीले जानकारी दिए ।

‘वर्षे धान रोपेदेखि धान घरमा नभित्राएसम्म पानी परेपछि धान डुबानमा पर्ला कि भनेर चिन्तामा बस्नुपर्ने अवस्था छ,’ उनले भने ।

यसपटक पनि पाक्नै लागेको धान वर्षाको पानीले ढलेर नष्ट भएपछि किसानहरू दुःखी भएको गिरीले बताए । वर्षायाममा खेत डुबानको समस्या समाधान गर्न खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहोर हटाउने र व्यवस्थित कोरिडोर निर्माण गर्न किसानले स्थानीय तहसँग माग गर्दै आएका छन् ।

समयमै समस्या समाधान नगरे हरेक वर्ष धानबालीमा क्षति पुग्ने र किसानको उत्पादन तथा आम्दानीमा असर पर्ने उनको भनाइ छ ।

किसान रामप्यारी सुवालका अनुसार पाक्नै लागेको धान ढलेपछि उत्पादनमा ठूलो असर पर्छ । ढलेको धानलाई पुनः उठाएर मुठामुठा बाँध्नुपर्ने र त्यसो गर्दा समेत अपेक्षित उत्पादन नहुने उनले बताइन् । धानमा दाना लाग्ने समयमा पानीले क्षति पुर्‍याउँदा धेरैजसो खोक्रो भुसमा परिणत हुने उनको भनाइ छ ।

भक्तपुरलाई किसानको जिल्ला भनेर चिनिन्छ । जिल्लाका चार नगरपालिका–भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायणमध्ये विशेषगरी सूर्यविनायक र चाँगुनारायणका विभिन्न क्षेत्रमा अझै ठूलो क्षेत्रफलमा खेती हुँदै आएको छ ।

तर ग्रामीण तथा शहरी क्षेत्रमा तीव्र रूपमा भइरहेको भौतिक विस्तारका कारण खेत तथा प्राकृतिक पानी बग्ने मार्गमा दबाब बढ्दै गएको छ । यसले ठूलो वर्षाका बेला पानीको निकास प्रभावित भई खेतमा डुबानको जोखिम बढाउने गरेको किसानहरूको अनुभव छ ।

किसानले स्थानीय तहसँग तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक विवरण संकलन गर्न तथा प्रभावित किसानलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया