काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षयता काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीका मूल तथा मुहान सुक्दै गएको पाइएको छ । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार निर्माण, भूकम्प तथा जलवायु परिवर्तनलगायतका कारण पानीका स्रोतमा संकट बढ्दै गएको हो ।
जिल्लाका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीका मूल तथा मुहान सुक्दै गएको तथ्य सार्वजनिक भएको छ । पानीका स्रोत सुक्दै जाँदा स्थानीयवासीलाई टाढाटाढाबाट पानी ल्याउनुपर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने तथा पानीकै अभावका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ ।
यस अवस्थालाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकका स्थानीय तहहरू पानी पुनर्भरण तथा मुहान संरक्षणतर्फ उन्मुख भएका छन् । रोशी गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिकाले पानीका स्रोत पहिचान गरी संरक्षणको योजना बनाउने तयारी गरेको छ ।
रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’को क्षेत्रगत परीक्षण तथा परामर्श सुरु गरेको छ ।
हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड)को संयुक्त आयोजनामा उक्त प्याकेजको सुरुवात गरिएको हो ।
जलवायु परिवर्तनका जोखिम सम्बोधन गर्न खानेपानी तथा मुहान व्यवस्थापन, जल पुनर्भरण प्रणाली, नवीकरणीय ऊर्जाको पहुँच तथा कृषि–जैविक विविधतालाई एउटै एकीकृत प्रणालीका रूपमा अगाडि बढाउने अवधारणाअनुसार प्याकेज तयार पारिएको इसिमोडका कार्यक्रम अधिकृत सदीक्षा गुरागाईंले बताइन् ।
उनका अनुसार प्याकेजको पहिलो चरणमा रोशी गाउँपालिका–१ स्याउरेटार र वडा नं. २ चण्डीबेँसीमा स्थानीय महिला, कृषक तथा समुदायका प्रतिनिधिको सहभागितामा कार्यक्रम सञ्चालन भइरहेको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई ध्यान दिँदै सीमान्तकृत समुदायका आवश्यकता र अनुभवलाई ‘अनुकूलन औजार’मा समेट्ने प्रयास गरिएको छ ।
प्याकेजअन्तर्गत खानेपानीको पहुँच घट्दै गएको अवस्थामा मुहान संरक्षणसँगै पानी पुनर्भरणका विधिलाई प्राथमिकता दिइएको छ । जोखिम नक्सांकन, जल बाँडफाँट तथा प्रणालीको आकार निर्धारणजस्ता व्यावहारिक औजारको परीक्षण भइरहेको छ । यस क्रममा गाउँपालिकाका दुई वडामा करिब एक हजार पाँच सय बहुउपयोगी बिरुवासमेत रोपिएको छ ।
रोशीमा मुहान तथा जलाधार संरक्षण र व्यवस्थापनका लागि खानेपानी तथा सिँचाइका स्रोत संरक्षणसँगै मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ ।
हिन्दूकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेसन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाई–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो ।
आशयपत्रमा मुहान तथा जलाधार संरक्षणका लागि स्रोत क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्ने उल्लेख छ । जोखिममा रहेका समुदाय तथा महिलाको उत्थानका लागि लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपाय अवलम्बन गरिने जनाइएको छ ।
यस्तै, स्वच्छ तथा नवीकरणीय ऊर्जाका प्रविधिको प्रयोग प्रवद्र्धन गर्नुका साथै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने योजना छ । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनलाई समेत परियोजनाले प्राथमिकतामा राखेको छ ।
रोशी गाउँपालिकामा करिब २२ प्रतिशत पानीका मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
यता, बेथानचोक गाउँपालिकामा हालै ३६९ वटा पानीका मुहान पहिचान गरिएको छ । इसिमोडले गरेको सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्वपूर्ण तथ्यांक प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए ।
उनका अनुसार पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइनेछ ।
“जलवायु परिवर्तनका कारण भविष्यमा बढ्दो पानीको संकट न्यूनीकरण गर्न थप संवेदनशील हुनुपर्ने भएकाले अहिले नै मुहान संरक्षण तथा पानी पुनर्भरण सबैको साझा प्रयास आवश्यक छ,” अधिकारीले भने ।
जिल्लाका सात स्थानीय तहले पानीका मूल तथा मुहानका मूलाधार र जलाधार क्षेत्र संरक्षण गर्न गत वर्षदेखि नै नीतिगत छलफल सुरु गरेका छन् । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा बेथानचोक, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिले मूलाधार तथा जलाधार संरक्षणका विषयमा चासो दिँदै आएका छन् ।
२०८१ सालको असोजमा आएको बाढीपहिरोले जिल्लाका अधिकांश क्षेत्रमा खानेपानीका मुहानमा क्षति पुर्याएपछि खानेपानीको अभाव थप गम्भीर बनेको छ । यसअघि जिल्लाका सात स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले पानीका मूल तथा मुहानका मूलाधार र जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा पाँच हजार १६८ वटा मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए । तीमध्ये २७ प्रतिशत पानीका स्रोत सुक्खा अवस्थामा रहेको पाइएको जनाइएको छ ।
यसैबीच, २०८१ सालको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकका सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जीवित कार्यक्रमसमेत प्रभावित बनेको थियो ।
जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा देखिएको पानीको समस्या सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा पानीका मुहान संरक्षण गर्ने अभियान सञ्चालनका लागि सम्झौता गरेका थिए ।
प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलाधार संरक्षण कार्यक्रम सञ्चालन गर्न सन् २०२४ जनवरीको पहिलो साता इसिमोडसँग जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रम सञ्चालनको तयारीस्वरूप स्थानीय तह तथा समुदायमा छलफल भइरहेका बेला गत असोजमा आएको बाढीपहिरोका कारण अभियान रोकिएको थियो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार यस वर्षदेखि उक्त अभियान पुनः सुरु गरिएको छ ।
“केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले उक्त अभियान रोकिएको थियो । यस वर्षदेखि पुनः सुरु गरेका छौँ,” उनले भने ।
उनका अनुसार क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माणसँगै पानीका मुहान पुनर्जीवित गर्ने कार्यक्रमलाई पनि समेट्नुपर्ने देखिएको छ ।
पानीका मुहान पुनर्जीवित कार्यक्रमका लागि इसिमोडले प्राविधिक सहयोग गर्नेछ भने स्थानीय तहका प्रमुखले आ–आफ्नो तर्फबाट सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ ।
जिल्लाका सात स्थानीय तहले पानीको असुरक्षा सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्यांकन तथा संकटमा रहेका मुहान पुनर्जीवित गर्ने अभियानमा ऐक्यबद्धता जनाएका छन् । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
इसिमोडका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा पानीका मुहान क्रमशः सुक्दै जानु प्रमुख समस्याका रूपमा देखिएको छ । पहाडी समुदायका लागि पिउने पानी, पशुपालन तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभावका कारण हुने विस्थापन रोक्नु तथा पानीसम्बन्धी विवाद न्यूनीकरण गर्नु अहिलेको मुख्य आवश्यकता बनेको छ ।
प्रतिवेदनहरूका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा रहेका करिब ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतका रूपमा सेवा दिँदै आएका छन् । तर, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन तथा भूमि प्रयोगमा आएको परिवर्तनलगायतका कारण पानीका मुहान जोखिममा पर्दै गएका छन् ।