भोटेकोशी बाढीपीडितलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा राहत वितरण
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका रसुवा र नुवाकोटका नागरिकलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले राहत सामग्री वितरण गरेको छ।
नुवाकोटको विदुर नगरपालिका–१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा रसुवा र नुवाकोटका बेत्रावती, ढुंगे, त्रिशूली र भैँसे क्षेत्रका करिब ७० बाढीपीडित परिवारलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गरिएको थियो। त्यसैगरी, बाढीका कारण रसुवाबाट विस्थापित भई विदुर नगरपालिका–महामण्डलमा आश्रय लिइरहेका करिब १ सय परिवारलाई ज्याकेट वितरण गरिएको थियो।
राहत वितरणअघि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बाढी प्रभावित त्रिशूली, बटार र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। अवलोकनपछि उनले नेपालको इतिहासमै कल्पना नगरिएको संकट अहिले देखिएको भन्दै यसलाई ठूलो खतरा र गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए।
‘यहाँ जनधनको ठूलो क्षति भएको छ, जसको यकिन आँकलन नै गर्न सकिएको छैन,’ उनले भने, ‘हिजो देखिएका कतिपय दृश्य आज बाँकी छैनन्। हामी विश्वकै ध्यान आकर्षित गर्ने खालको संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ।’
श्रेष्ठले विपत्ति नेपालको आफ्नै कारणले मात्र नभई विकसित मुलुकहरूले गरेको विकासको नकारात्मक असरका कारण सिर्जित वातावरणीय तथा जलवायु अन्यायको परिणाम भएको धारणा व्यक्त गरे। उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नुपर्नेमा जोड दिए।
स्थानीयस्तरमा राहत सङ्कलन तथा वितरणमा सर्वसाधारणले देखाएको स्वतःस्फूर्त सहयोग र परोपकारी भावनाको प्रशंसा गर्दै उनले यस्तो भावना राजनीतिक तथा सरकारी तहमा देख्न कठिन हुने बताए।
देवीघाट बजारको वर्तमान अवस्थालाई उनले आफ्नो जीवनकालकै सबैभन्दा दुःखद् क्षणमध्ये एक भएको बताए। हिजोको सुन्दर बजार अहिले दलदलमा परिणत भएको र बाटोको पहिचानसमेत हराएको उनले उल्लेख गरे।
श्रेष्ठले तत्कालका लागि नागरिकले स्वतःस्फूर्त रूपमा खाना तथा अस्थायी बसोबासको व्यवस्था गरे पनि दीर्घकालीन समाधानका लागि राज्यले उच्च जिम्मेवारीका साथ योजना बनाउनुपर्ने बताए।
‘बाढीले धेरैको घर उजाडेको छ, कतिपयको खोजी गरिदिने परिवारका सदस्यसमेत बाँकी छैनन्,’ उनले भने, ‘सरकारले अविलम्ब दिनरात नभनी पीडितहरूको स्थायी पुनर्वास, जग्गा, घर र विद्यालयको व्यवस्था मिलाउन दिगो योजना ल्याउनुपर्छ।’
राहत वितरण कार्यक्रममा समाजसेवीहरू कृष्णमान प्रधान, पूर्णलाल श्रेष्ठ, रवि केसी, घनश्याम खड्का र सुवर्ण श्रेष्ठले समेत सहकार्य गरेका थिए।
उनीहरूले बाढीपीडितलाई तत्काल सहज रूपमा बसोबास गर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी टहरा निर्माण गर्नुपर्ने माग गरेका छन्। दीर्घकालीन रूपमा विस्थापितको स्थायी बसोबासका लागि संघीय सरकारले आवश्यक जग्गा, घर तथा आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।