भारतको करिब ५ करोड सहयोगमा पुनर्निर्मित पाटनको ‘कुमारी छेँ’ र ‘नयाँ कुमारी निवास’ उद्घाटन

nepalkuro.com

ललितपुर – ललितपुरको पाटनमा पुनर्स्थापित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्थल **‘कुमारी छेँ’ र ‘नयाँ कुमारी निवास’**को उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत समारोहमा समेत सहभागिता जनाएका थिए।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब पाँच करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण तथा पुनर्स्थापना गरिएको हो।

परियोजना नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले कार्यान्वयन गरेको थियो। संरचनाको डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा भने इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य खरेलले स्थानीय समुदायले सम्पदा संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै जीवित सांस्कृतिक सम्पदाको संरक्षण र निरन्तरता महत्वपूर्ण रहेको बताए। उनले पुनर्स्थापनामा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरसहित देशका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गरे। उनले सम्पदा संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहयोग र सहकार्यका लागि धन्यवाद दिए।

भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका ऐतिहासिक धरोहरको संरक्षण र पुनर्स्थापनामा भारतको सहयोग निरन्तर रहने बताए।

उनले पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवास नेपाल र भारतबीचको साझा सांस्कृतिक सम्पदा तथा दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने धारणा व्यक्त गरे।

भारतीय दूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण तथा पुनर्स्थापनामा सहयोग गरेको छ।

त्यसैगरी गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ वटा शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत भारत सरकारले सहयोग गरेको जनाएको छ।

दूतावासले कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्स्थापना परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सहयोग पुर्‍याउनुका साथै नेपाल–भारतबीचको विकास साझेदारी र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको जनाएको छ।

प्रतिक्रिया