दुई दशकको प्रतीक्षा सकियो : ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना उत्पादनको तयारीमा
nepalkuro.com
८ भदौ २०८३, सोमबार
म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकिएसँगै आयोजना अब विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनामा बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डलगायत संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण सकिएको छ भने अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षण पनि सुरु गरिएको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार अब एकदेखि १० दिनसम्म परीक्षण पूरा गरेर विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदी क्षेत्रमा निर्माण गरिएको छ। आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, दुई वटा पानी थिग्राउने पोखरी तथा तिल्केनीचौरमा विद्युत्गृह निर्माण गरिएको छ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ। राहुघाटबाट उत्पादन हुने बिजुली कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा डबल सर्किट प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ।
आयोजनाको सिभिल निर्माण ठेक्का भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग सन् २०१७ नोभेम्बरमा भएको थियो। सुरुमा ४५ महिनाभित्र काम सक्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढीपहिरो, निर्माण सामग्रीको अभावलगायत कारण आयोजनाको समय पटकपटक थपियो।
यसअघि कमजोर आर्थिक अवस्थाका कारण पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का २०७२ सालमा तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण अघि बढाइएको थियो। यही कारण आयोजना सम्पन्न हुन करिब दुई दशक लागेको हो।
भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग इलेक्ट्रोमेकानिकल उपकरणका लागि ठेक्का सम्झौता गरिएको थियो। आयोजना भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको हो।
राहुघाट आयोजनाले वार्षिक करिब २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। म्याग्दीमा सरकारी लगानीमा निर्माण भएको पहिलो जलविद्युत् आयोजनाका रूपमा यसलाई जिल्लाको जलविद्युत् विकासको ‘प्रवेशद्वार’ समेत मानिएको छ।
ढिलाइका अनेक बाधा पार गर्दै अब राहुघाटबाट बिजुली उत्पादन सुरु हुने चरणमा पुगेपछि म्याग्दीवासी उत्साहित भएका छन्।