साउदीविरुद्ध नेपालले सुरुमा बलिङ गर्ने, लगातार तेस्रो जितको लक्ष्य
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । साउदी अरेबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले यसअघि खेलेका दुवै खेलमा शानदार जित हात पारेको छ । पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।
दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । तीन खेल खेलेको साउदी अरेबियाले भने दुई खेलमा पराजय र एक खेलमा जित हात पार्दै दुई अंक जोडेको छ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई पछि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा रहेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । साउदी अरेबियासँग यसअघि भएका दुई खेलमध्ये नेपालले एक खेल जितेको छ भने अर्को खेल रद्द भएको थियो । ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ । त्यसैले सहज रूपमा सेमिफाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ ।
आज साउदी अरेबियासँग पराजित भएमा नेपालले अन्तिम खेलको नतिजासँगै रनरेटको गणना पर्खिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा नेपाल रहेको छ ।