जेन–जी आन्दोलनले दिएको सन्देशअनुसार सुशासन कायम गर्न कार्कीको आग्रह
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छन्।
‘जेन–जी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल माध्यमबाट आवाज उठाउँदा ज्यान गुमाएका नवयुवालाई स्मरण गरेकी छन्।
उनले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको उल्लेख गर्दै आन्दोलनका क्रममा कैयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको बताएकी छन्।
“त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो। कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे। राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ। अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन,” उनले भनेकी छन्।
पूर्वप्रधानमन्त्री कार्कीले सुशासन नभए संसद्को दुईतिहाइ बहुमतले समेत राजनीतिक स्थायित्व दिन नसक्ने स्पष्ट सन्देश जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन्।
“राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ। त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,” उनले भनेकी छन्।
कार्कीले जेन–जी आन्दोलनमा सहिद भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक अहिले भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उनले उल्लेख गरेकी छन्।
बाढीबाट भएको क्षतिको दुःखद घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आग्रह गर्दै उनले एकअर्काको सहारा बन्दै, दुःखमा मलम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैलाई आह्वान गरेकी छन्।