युट्युबबाट सिकेको ज्ञानले किसान बने ड्रागन फ्रुटका व्यावसायिक उत्पादक

nepalkuro.com

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट बेलवासेले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन् । उनले रुपन्देहीको रानीबगियाबाट प्रतिबिरुवा १६० रुपैयाँका दरले ६२८ वटा बिरुवा खरिद गरी १५७ वटा पोलमा चार–चार बिरुवा रोपेर खेती सुरु गरेका हुन् ।

बिरुवा अझै पूर्ण रूपमा परिपक्व भइनसकेकाले चौथो पटकको फल टिप्ने तयारी भइरहेको बेलवासेले बताए । आगामी वर्षदेखि उत्पादन उल्लेख्य रूपमा बढ्ने उनको अपेक्षा छ ।

बजारमा ड्रागन फ्रुटको माग राम्रो रहेकाले बिक्रीका लागि समस्या नभएको उनको भनाइ छ । हाल ड्रागन फ्रुट प्रतिलिटर होइन, प्रतिकिलोग्राम ४ सय रुपैयाँसम्म मा बिक्री भइरहेको छ भने ग्राहकहरू समेत फल खरिद गर्न घरमै आउने गरेका छन् ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएका बेलवासेले सिँचाइको अभाव र गर्मी मौसमलाई मुख्य चुनौती का रूपमा लिएका छन् । नयाँ प्रविधि र सामाजिक सञ्जालबाट प्राप्त जानकारीले आफूलाई व्यावसायिक खेतीतर्फ लाग्न प्रेरित गरेको उनले बताए ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको यकिन अभिलेख नभए पनि साना तथा छरिएका रूपमा खेती सुरु हुन थालेको बताए ।

आकर्षक मूल्य र राम्रो बजार सम्भावनाका कारण किसानहरू परम्परागत बालीको विकल्प खोज्दै बढी आम्दानी हुने नयाँ फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार ड्रागन फ्रुटलगायत नयाँ बालीको व्यावसायिक सम्भावना बढ्दै जाँदा जिल्लामा यसको खेती विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया