देवीघाटको एक्रोब्रिज तयार भएको भन्दै एआई तस्बिरबाट भ्रम फैलाएको आरोप

nepalkuro.com

काठमाडौँ – नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट निर्मित तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा सामग्री सार्वजनिक भएपछि त्यसप्रति आलोचना भएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेको छ । त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती सडकखण्डमा पर्ने उक्त पुल निर्माणको काम नेपाली सेनाले सुरु गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तर पुल निर्माणकै क्रममा सामाजिक सञ्जालमा एआईबाट बनाइएको तस्बिर प्रयोग गरी पुल तयार भइसकेको र सवारीसाधनसमेत सञ्चालनमा आएको जस्तो देखिने सामग्री सार्वजनिक भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कमेडियन हिमेश पन्तले आइतबार बिहान फेसबुकमा देवीघाटमा पुल निर्माण तीव्र गतिमा भइरहेको भन्दै पुल तयार भइसकेको जस्तो देखिने तस्बिर सार्वजनिक गरेका थिए । उनले रातभर नसुती विपद्पछि सडक सम्पर्क पुनःस्थापनामा खटिएका नेपाली सेना, सडक विभाग, प्राविधिक तथा श्रमिक टोलीको प्रशंसा गर्दै उक्त कामलाई ‘फास्ट डेभलपमेन्ट’को उदाहरणका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि देवीघाटमा अहिले बेलीब्रिज नभई अमेरिकी मोडेलको एक्रोब्रिज जडान भइरहेको बताइएको छ ।

पूर्वखानेपानी सचिव भीमप्रसाद उपाध्यायले पनि सोही प्रकारको एआईबाट निर्मित तस्बिर प्रयोग गर्दै विदुर वारिपारि जोड्ने नयाँ एक्रोब्रिजको वर्तमान अवस्था भन्दै सामाजिक सञ्जालमा सामग्री राखेका छन् । उनले अमेरिकाको एक्रो कर्पोरेसनको पेटेन्ट रहेको मोडुलर प्रिफ्याब्रिकेटेड पुल सात दिनमै तयार हुन सक्ने दाबी गरेका थिए । उनले उक्त पुल बेलीब्रिज नभएको उल्लेख गर्दै बेलायती पेटेन्टप्राप्त बेलीब्रिजसमेत सात दिनमै तयार गर्न सकिने तर्क गरेका छन् ।

पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले समेत सोही प्रकृतिको तस्बिर प्रयोग गरेकी छन् । तर वास्तविकतामा पुलको वारिपट्टि केही भागमा स्टिल राख्ने काम सुरु भए पनि पारिपट्टिको काम अझै अघि बढिसकेको छैन ।

वास्तविकता के हो ?

नुवाकोटका पत्रकार रामहरि न्यौपानेले नियमित रूपमा काम भए देवीघाटमा निर्माण भइरहेको एक्रोब्रिज आगामी बुधबारसम्म सम्पन्न हुन सक्ने बताएका छन् । उनले विपद्को समयमा एआईबाट तस्बिर बनाएर पुल निर्माण सम्पन्न भइसकेको गलत सन्देश प्रवाह नगर्न आग्रह गरेका छन् ।

त्यस्तै, नुवाकोटकै पत्रकार माधवप्रसाद तिवारीले पनि देवीघाटमा पुल निर्माणको काम भइरहेको भए पनि पुल तयार भइसकेको भन्दै ‘डिपफेक’ तस्बिरमार्फत भ्रम फैलाउन नहुने बताएका छन् ।

उनका अनुसार देवीघाटपारि पुलको मुखमा तत्कालै बजार वा घरहरू नरहेको अवस्थामा एआईबाट बनाइएको तस्बिरले वास्तविक निर्माणको अवस्थालाई नै ओझेलमा पार्ने अवस्था आएको छ ।

एमाले नेतृ एवं बेलकोटगढीकी स्थानीयबासी उषाकिरण तिमल्सिनाले पनि एआईबाट बनाइएका तस्बिरप्रति व्यंग्य गर्दै ‘एआई युगलाई झुट युग भने पनि भयो’ भन्दै देवीघाट र बुइँनीबेँसीको वास्तविक अवस्थाबारे सामाजिक सञ्जालमा लेखेकी छन् ।

भोटेकोशी बाढीपछि ११ दिनमै देवीघाटमा एक्रोब्रिज जडानको काम अघि बढ्नु चुनौतीपूर्ण भए पनि पुल पूर्ण रूपमा तयार भइनसकेको स्थानीय, पत्रकार तथा बाढीपीडितहरूले बताएका छन् ।

यस घटनाले विपद्का बेला राहत, उद्धार तथा पुनर्निर्माणसम्बन्धी सूचनामा एआईबाट निर्मित वा सम्पादित तस्बिर प्रयोग गर्दा वास्तविक अवस्थाबारे भ्रम सिर्जना हुन सक्ने देखाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक हुने यस्ता सामग्रीको सत्यता जाँच गरेर मात्रै विश्वास गर्नुपर्ने आवश्यकता समेत यस घटनाले औँल्याएको छ ।

प्रतिक्रिया