गएरातिको भूकम्पको पराकम्पनले लोमान्थाङमा दुई संरचनामा आंशिक क्षति

nepalkuro.com

मुस्ताङ — गएराति लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई वटा संरचनामा आंशिक क्षति पुगेको छ। भूकम्प मंगलबार राति ९ बजेर ५३ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पका कारण लोमान्थाङ गाउँपालिका–३ फुवा गाउँस्थित एक घरको छत र पर्खाल भत्किएको छ। ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने भएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीका अनुसार भूकम्पको धक्का उपल्लो मुस्ताङ क्षेत्रमा निकै महसुस गरिएको थियो। धक्का महसुस भएपछि स्थानीयवासी केही समय घरबाहिर बसेका थिए।

त्यसैगरी, भूकम्पका कारण लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङस्थित ऐतिहासिक छोदे गुम्बाको बाहिरी पर्खालसमेत आंशिक रूपमा भत्किएको प्रहरीले जनाएको छ।हालसम्म भूकम्पबाट अन्य ठूलो भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको र प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया