भोटेकोशी बाढीका शव पहिचान गर्न डिएनए परीक्षण तीव्र
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
रुपन्देही– भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक फोरेन्सिक विधिबाट नमुना परीक्षण अघि बढाएको हो ।
सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट प्राप्त डिएनए नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलन, भण्डारणदेखि परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड र आधुनिक प्रविधि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज तथा उद्धारसँगै शव पहिचानलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी छ ।
उहाँका अनुसार सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गरी मानक प्रक्रियाअनुसार डिएनए परीक्षण गर्न टोली अहोरात्र खटिएको छ । प्रयोगशालामा हालसम्म प्राप्त १ हजार २४० नमुनामध्ये ८०८ वटा रगतका नमुना, ३४८ वटा दाँत तथा हड्डीका नमुना र ८४ वटा औँलाछापका नमुना रहेका छन् । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि नमुना प्राप्त भएको प्रहरीले जनाएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ४१२ गरी कुल २ हजार ६७८ डिएनए नमुना सङ्कलन भइसकेको छ ।
मृतकका सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, नवलपरासी पश्चिमबाट २१३, नुवाकोटबाट २०७, नवलपरासी पूर्वबाट १९९, रसुवाबाट १३४, गोरखाबाट ७१, धादिङबाट ७० र तनहुँबाट ३८ वटा रहेका छन् ।
यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० जना मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ । अन्य जिल्लामा पनि नमुना सङ्कलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि डिएनए प्रोफाइलिङको दायरा फराकिलो बनाइएको छ । बाढीमा भेटिएका शव वा शरीरका अङ्गको डिएनएलाई सम्भावित आफन्तको नमुनासँग तुलना गरी पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शव पहिचान तथा डिएनए परीक्षणलाई वैज्ञानिक विधि र मापदण्डअनुसार उच्च प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार नमुना सङ्कलनदेखि परीक्षणसम्मको कार्यलाई व्यवस्थित बनाइएको छ ।