राहत कोषको नाममा एआईबाट नक्कली भौचर बनाएर ठगी प्रयास, रामेछापमा एक पक्राउ

nepalkuro.com

रामेछाप — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर नक्कली भौचर तथा बैंक स्टेटमेन्ट तयार पारी सर्वसाधारणबाट रकम उठाउने प्रयास गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारले सञ्चालन गरेको उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ जम्मा गरेको देखाउने गरी नक्कली कागजात तयार पारेका थिए।

प्रहरीका अनुसार उनले एआई प्रविधिको प्रयोग गरी तयार पारिएको नक्कली भौचर तथा बैंक स्टेटमेन्टमा आफ्नै व्यक्तिगत QR कोड राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त पोस्टमार्फत सर्वसाधारणलाई आफूले राहत कोषमा रकम जम्मा गरेको विश्वास दिलाई व्यक्तिगत QR कोडमा रकम पठाउन प्रेरित गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै कार्कीलाई नियन्त्रणमा लिएको हो। उनीमाथि ठगी तथा विद्युतीय माध्यमको दुरुपयोगसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।

बाढीपहिरो प्रभावितका नाममा राहत रकम उठाउने क्रम बढिरहेका बेला नक्कली बैंक स्टेटमेन्ट, भौचर र QR कोड प्रयोग गरेर ठगी गर्ने प्रयाससमेत देखिन थालेपछि प्रहरीले सामाजिक सञ्जालमा आएका राहतसम्बन्धी अपिलको आधिकारिकता जाँच गरेर मात्र रकम पठाउन आग्रह गरेको छ।

प्रतिक्रिया