भोटेकोशी बाढीपीडितका लागि चङ्खेलीका जनप्रतिनिधिले पारिश्रमिकबाट सहयोग गर्ने

nepalkuro.com

हुम्ला – रसुवाको भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेका छन् ।

रसुवाको टिमुरे, रसुवागढीलगायत क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको घटनाप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाट रकम कट्टा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन तथा वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

त्यसैगरी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीले पनि सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार आफ्नो तलब तथा पारिश्रमिकबाट रकम कट्टा गरी उक्त कोषमा योगदान गर्ने भएका छन् ।

यसैबीच चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवास्थित एक जलविद्युत् आयोजनामा काम गर्दै आएको गाउँपालिकाले जनाएको छ । भोटेकोशी बाढीपछि सरकारले उनीहरूको उद्धार गरी शिविरमा राखेको भए पनि उनीहरू घर फर्कन नसकेको जनाइएको छ ।

उनीहरूलाई घरसम्म फर्काउन आवश्यक गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने अध्यक्ष शाहीले बताए । साथै खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्था तथा निकायसँग सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक समन्वय गरिने गाउँपालिकाले जनाएको छ ।

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको योगदानसँगै अन्य सहयोगी निकायलाई समेत सहकार्यका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया