महोत्तरी– महोत्तरीमा तीन–चार दशकयता निकै घटेको कोदोखेती पछिल्ला केही वर्षयता भने पुनः बढ्दै गएको छ । कोदोका पौष्टिक गुणबारे जनचेतना र चर्चा बढेसँगै किसानले यसको खेती विस्तार गर्न थालेका हुन् ।
कृषि ज्ञान केन्द्र, महोत्तरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएको थियो । दुई वर्षपछि आव २०८१/८२ मा यो बढेर ३७५ हेक्टर पुगेको थियो । यस्तै, आव २०८२/८३ मा ३८२ हेक्टरमा कोदोखेती गरिएको केन्द्रका सूचना अधिकारी अविरलकुमार महतोले बताए ।
चालु आव २०८३/८४ मा भने जिल्लामा कोदोखेतीको क्षेत्रफल करिब ५०० हेक्टर पुग्ने अनुमान गरिएको छ । क्षेत्रफलसँगै कोदोको उत्पादन पनि पछिल्ला वर्षमा बढ्दै गएको छ ।
आव २०७८/७९ मा ३३० मेट्रिक टन कोदो उत्पादन भएकोमा आव २०८१/८२ मा ४१२ मेट्रिक टन पुगेको थियो । गत आव २०८२/८३ मा ४२० मेट्रिक टन उत्पादन भएको महतोले जानकारी दिए । यस वर्ष उत्पादन करिब ६५० मेट्रिक टन पुग्ने कार्यालयको अनुमान छ ।
महोत्तरीमा कोदो बर्खा र हिउँद दुवै मौसममा लगाउने गरिन्छ । दुवै मौसममा उत्पादनको अनुपात उस्तै भए पनि हिउँदमा बाली काट्न र थन्क्याउन सहज हुने किसानको अनुभव छ ।
राम्रो मूल्य पाउन थालेपछि किसान आकर्षित
भङ्गाहा–४ का किसान गङ्गाराम महतोका अनुसार विसं २०४० को दशकमा उनका बुबाले करिब १० कट्ठा क्षेत्रफलमा कोदो लगाउने गर्थे । तर त्यसबेला कोदोले राम्रो मूल्य नपाएपछि विस्तारै यसको खेती घट्दै गएको उनले बताए ।
पछिल्ला वर्षमा कोदोका गुणबारे प्रचार बढ्नुका साथै बजारमा राम्रो मूल्य पाउन थालेपछि आफूले पनि चार–पाँच वर्षयता खेती विस्तार गर्दै आएको महतोले बताए ।
‘अहिले त अरू अन्नभन्दा कोदोले राम्रो दाम पाउन थालेको छ । कोदो चाहिने व्यक्तिले घरमै आएर लैजाने गर्छन्,’ उनले भने । आफूलाई मधुमेहको समस्या रहेकाले नियमित रूपमा कोदोको रोटी खाने गरेको पनि उनले बताए ।
कोदोको ढिँडो अहिले धेरैको भान्सामा लोकप्रिय परिकार बनेको छ । कोदोको पिठोबाट बिस्कुट, हलुवालगायतका परिकारसमेत बनाउन थालिएको छ । मधेस क्षेत्रमा भने कोदो मुख्यतः रोटीका रूपमा खाने गरिन्छ ।
पहिले ‘गरिबको खान्की’, अहिले स्वास्थ्यवर्द्धक अन्न
तत्कालीन कृषि विकास कार्यालयका अधिकृत वाणिकराज काफ्लेले विसं २०४० अघि महोत्तरीमा दुई हजार हेक्टरभन्दा बढी क्षेत्रमा कोदोखेती हुने गरेको सम्झिए । खासगरी सिँचाइको सुविधा नपुगेका पाखाबारीमा कोदो र मकैलाई मुख्य बालीका रूपमा लगाउने चलन रहेको उनले बताए ।
‘कोदो एकपटक खाएपछि धेरैबेरसम्म टिक्न सकिने भएकाले यसलाई गरिबको खान्की बुझिन्थ्यो । सम्पन्न किसान यसको खेती गर्दैनथे,’ काफ्लेले विगत सम्झिँदै भने, ‘पछिपछि विभिन्न रोगले गाँज्ने क्रम बढेसँगै कोदोको प्रचार बढ्यो । अहिले त सम्पन्न भनिनेहरू खेती नगरे पनि झोला बोकेर कोदो किन्न बजार पुग्छन् ।’
विशेषगरी मधुमेह भएका व्यक्तिले कोदो रुचाउन थालेपछि यसको महत्त्व, मूल्य र खेतीसमेत बढ्दै गएको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रितेश घिमिरेले बताए ।
उनका अनुसार कोदोमा कार्बोहाइड्रेट, आहारजन्य रेसा, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम तथा पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । विशेषगरी फाइबर र खनिज पदार्थ पर्याप्त हुने भएकाले खानामा कोदोको प्रयोगले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग पुग्ने उनले बताए ।