विदेशस्थित नेपाली नियोगलाई दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउन छुट्टै खाता खोल्न निर्देशन
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौं– सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउन आवश्यकताअनुसार छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।
कोषको खातामा प्रत्यक्ष रूपमा सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा झन्झट हुन सक्ने भएकाले वैकल्पिक खाता प्रयोग गर्न निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विद्यमान नियमअनुसार नियोगहरूले आफ्ना विभिन्न खाता प्रयोग गर्न वा आवश्यक परे नयाँ खाता खोल्न सक्नेछन्। ती खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय सङ्घसंस्था तथा सामुदायिक समूहबाट राहत सहयोग रकम सङ्कलन गरिनेछ।
नियोगहरूले संकलित रकमको दैनिक अभिलेख तोकिएको ढाँचामा राख्नुपर्ने व्यवस्था गरिएको छ। यसरी सङ्कलन भएको रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्नेछ।
यसअघि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामै सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरेको थियो। तर विदेशबाट रकम पठाउँदा देखिने प्राविधिक तथा कारोबारसम्बन्धी समस्यालाई ध्यानमा राख्दै नियोगमार्फत रकम सङ्कलन गर्ने व्यवस्था गरिएको हो।
यसैबीच, परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरूले सबै मित्रराष्ट्रसँग निकट समन्वय गरी भोटेकोशी बाढीबाट प्रभावित विशेष क्षेत्रको यात्रासम्बन्धी सूचना सीमित राख्ने प्रयास गरिरहेको जनाएको छ।
मन्त्रालयले बाढी प्रभावित केही क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने भए पनि नेपालका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा जानकारी गराइरहेको जनाएको छ।
मन्त्रालयले आइतबार जारी गरेको जानकारीमा नेपालका सुरक्षित तथा पर्यटनका लागि खुला क्षेत्रबारे सकारात्मक सूचना प्रवाह गरी अन्तर्राष्ट्रिय पर्यटक तथा यात्रुमा अनावश्यक भ्रम सिर्जना हुन नदिने प्रयास भइरहेको उल्लेख गरेको छ।