महाकालीमा पानीको बहाव बढेपछि गड्डाचौकी नाकाबाट चारपाङ्ग्रे सवारी आवागमन प्रभावित

nepalkuro.com

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनको आवागमन प्रभावित भएको छ।

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी हुँदै भारतको बनवासा जाने शारदा ब्यारेज (बनवासा पुल) बाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको छ।

उनका अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले बनवासा पुलबाट चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ। पछिल्लो समय पहाडी जिल्लासँगै कञ्चनपुरमा समेत वर्षा भइरहेकाले महाकालीको बहाव अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाइएको हो।

करिब एक सय वर्ष पुरानो बनवासा पुल जीर्ण अवस्थामा रहेकाले वर्षायाममा नदीको बहाव बढ्दा जोखिम हुनसक्ने भन्दै ठूला तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवागमनमा रोक लगाइने गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाए पनि मोटरसाइकल तथा पैदल यात्रुका लागि आवागमन भने सञ्चालनमै रहेको छ। नदीको जलस्तर तथा पानीको बहाव घट्दै गएपछि बनवासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमनसमेत सहज हुने प्रहरी वरिष्ठ नायब निरीक्षक गुरुङले बताए।

महाकाली नदीको जलस्तरमा निरन्तर निगरानी भइरहेको र बहाव बढ्दै गएमा थप सुरक्षा सतर्कता अपनाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया