काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा त्यसबाट प्रभावित घटनामा परी हालसम्म १ हजार ११४ जनाको मृत्यु भएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भएका छन्। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
३७ ट्रकबाट राहत सामग्री पठाइयो
बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य सामग्री पुर्याउने काम पनि जारी रहेको छ। प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक तथा ३७ वटा साना सवारीसाधनमार्फत अत्यावश्यक खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
त्यस्तै, दुर्गम तथा सडक पहुँचमा समस्या भएका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत समेत राहत सामग्री पुर्याउने काम भइरहेको छ।
सरकारले बाढी प्रभावित १५ पालिकालाई हालसम्म रु छ करोड ७५ लाख नगद राहत निकासा गरेको प्राधिकरणले जनाएको छ।
यसैगरी रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण प्रभावित भएको इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि आवश्यक व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण, शव व्यवस्थापन, सम्पर्कविहीनको खोजी तथा अत्यावश्यक सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ।