भोटेकोशी बाढीबारे भ्रामक सामग्री बनाउने एक जना पक्राउ

nepalkuro.com

काठमाडौं– सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार तथा जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूमाथि प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र पारेको छ ।

यसै क्रममा भोटेकोशी बाढीबाट भएको क्षतिलाई लिएर लक्षित समुदायलाई अपमान गर्ने तथा प्राकृतिक विपत्तिमा खुसी व्यक्त गर्दै भिडियो (रिल) बनाएको आरोपमा बैतडी सुर्नयाका २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले उनलाई काठमाडौंको चन्द्रागिरि–१२, बलम्बुबाट पक्राउ गरेको हो ।

प्राकृतिक विपत्तिको संवेदनशील अवस्थामा पीडित नागरिकलाई थप पीडा दिने, त्रास फैलाउने तथा घृणास्पद सामग्री पोस्ट गर्नेहरूमाथि शून्य सहनशीलताको नीति अपनाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले अराजक मानसिकताका साथ विभत्स तस्बिर तथा भ्रामक सूचना सामाजिक सञ्जालमा सेयर गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताए ।

प्रहरीका अनुसार हालसम्म सामाजिक सञ्जालमा १७३ वटा गलत तथा भ्रामक सामग्री प्रसारण भएको पाइएको छ । तीमध्ये फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एकवटा सामग्री रहेका छन् ।

प्रहरीका अनुसार साइबर सक्रियतामार्फत फेसबुकका ७९ र टिकटकका चारवटा सामग्री हटाइसकिएको छ ।

सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्री नियन्त्रण तथा अनुगमनका लागि साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ ।

समितिले अञ्जानमा सेयर गरिएका सामग्रीको गाम्भीर्यता हेरेर सचेत गराउने तथा नियतवश भ्रामक सूचना फैलाउने र राहत सङ्कलनका नाममा ठगी गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाउने डिएसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया