राँगाको आलो मासु बेलबारी, हरैचालगायत स्थानीय बजारमा प्रतिकिलो ७०० रुपैयाँ मा किनेर सुकुटी बनाउने गरेको उनले बताए । प्रेमका अनुसार आलो मासुको बढीमा एक चौथाइसम्म सुकुटी बन्नेगरेको बताउँछन् । प्रेम र दिलीप मात्र होइन, अरु युवा पनि यस व्यवसायमा लागिपरेका छन् । ‘विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ’, वैदेशिक रोजगारीबाट फर्केर ११ वर्षदेखि यही पेसामा जमेका शोभितमान श्रेष्ठ बताउँछन् । पूर्वी–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने मुख्य थलो बनेको विराटनगर निवासी सेन्जम फुयाँल बताउँछन् । स्वदेशी बजारमा मात्र होइन, यहाँको सुकुटीको माग अहिले बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पुगेको सुकुटी व्यवसायी दिलीप श्रेष्ठले बताए । कोसेलीका रूपमा अन्तरराष्ट्रिय बजारबाट उच्च माग आए पनि परम्परागत निर्माण शैली र जनशक्तिको अभावका कारण मागअनुसार पुर्‍याउन धौ–धौ परिरहेको व्यवसायीहरू बताउँछन् । विदेशमा बगाउने पसिना र समय आफ्नै माटोमा खन्याउने हो भने स्थानीय परिकारलाई पनि सफल व्यवसाय र अन्तरराष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ भन्ने विश्वास रहेको प्रेम श्रेष्ठले बताए ।

nepalkuro.com

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्। वैदेशिक रोजगारीको आकर्षक कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले लक्ष्मीमार्गको पहिचान नै बदलिदिएको छ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लक्ष्मीमार्ग अहिले ‘सुकुटी बजार’ का रूपमा परिचित हुन थालेको छ। कतारमा ६ वर्ष काम गरेर फर्किएका प्रेम श्रेष्ठ र मलेसियामा ८ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यसका उदाहरण हुन्।

सुरुवाती दिनमा महिनामा २०–३० किलो सुकुटी बिक्री गर्नसमेत कठिन हुने प्रेमको व्यवसायमा अहिले मासिक सयौँ किलो सुकुटी बिक्री हुने गरेको छ। प्रतिकिलो २ हजार ७ सय रुपैयाँ मा बिक्री हुने सुकुटीबाट उनले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए।

उनका अनुसार बेलबारी, हरैचालगायत स्थानीय बजारबाट राँगाको आलो मासु प्रतिकिलो करिब ७ सय रुपैयाँमा खरिद गरी त्यसलाई प्रशोधन गरेर सुकुटी बनाउने गरिएको छ। आलो मासुको बढीमा एक चौथाइ मात्र सुकुटीका रूपमा तयार हुने उनले बताए।

प्रेम र दिलीप मात्र होइन, वैदेशिक रोजगारीबाट फर्किएका अन्य युवासमेत अहिले सुकुटी व्यवसायमा आकर्षित भएका छन्।

‘विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ,’ वैदेशिक रोजगारीबाट फर्किएर ११ वर्षदेखि यही व्यवसायमा जमिरहेका शोभितमान श्रेष्ठले भने।

पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि समेत लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिन पुग्ने प्रमुख गन्तव्य बनेको विराटनगर निवासी सेन्जम फुयाँल बताउँछन्।

नेपालबाट बेलायत–अमेरिकासम्म पुग्यो लक्ष्मीमार्गको सुकुटी

लक्ष्मीमार्गमा उत्पादन हुने सुकुटीको माग स्थानीय बजारमा मात्र सीमित छैन। व्यवसायीका अनुसार यसको माग बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पनि पुग्न थालेको छ।

कोसेलीका रूपमा अन्तर्राष्ट्रिय बजारबाट माग बढे पनि परम्परागत उत्पादन शैली र पर्याप्त जनशक्तिको अभावका कारण मागअनुसार सुकुटी उत्पादन गर्न कठिन भइरहेको व्यवसायी दिलीप श्रेष्ठले बताए।

युवाहरूको विदेश पलायन बढिरहेका बेला लक्ष्मीमार्गका यी व्यवसायीले भने विदेशमा कमाएको सीप, अनुभव र मेहनत आफ्नै ठाउँमा प्रयोग गरेर रोजगारी र आम्दानीको बाटो सिर्जना गरेका छन्।

‘विदेशमा बगाउने पसिना र समय आफ्नै माटोमा खन्याउने हो भने स्थानीय परिकारलाई पनि सफल व्यवसाय र अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ,’ प्रेम श्रेष्ठले भने।

लक्ष्मीमार्गको कथा केवल सुकुटीको व्यापार होइन, विदेशबाट फर्किएका युवाले आफ्नै गाउँमा अवसर सिर्जना गर्न सक्छन् भन्ने उदाहरणसमेत बनेको छ।

प्रतिक्रिया