स्पेनमा बस्ने नेपालीहरूका लागि सेउटा धेरै टाढाको ठाउँ हुन सक्छ । तर केही दिनअघि त्यही सानो सीमावर्ती सहरमा जे भयो, त्यसको तरंग अहिले बार्सिलोनादेखि म्याड्रिडसम्म मात्र होइन, माल्टा, क्रोएसिया, रोमानिया र बुल्गेरियामा बसेर स्पेन आउने योजना बनाइरहेका नेपालीसम्म पुगेको छ ।
सेउटाको संकट विस्तारै नियन्त्रणमा आएको छ । तर त्यसले उठाएको बहस अझै सकिएको छैन । अहिले प्रश्न सीमा पार गरेका हजारौं आप्रवासीको मात्र होइन, स्पेनको आप्रवासन नीति अब कता जाँदैछ भन्ने पनि हो ।केही दिनअघि सेउटाको समुद्री किनारमा हजारौं मानिस समुद्र हुँदै स्पेन प्रवेश गर्ने प्रयासमा थिए । स्पेनी प्रहरी, गार्डिया सिभिल र सैनिक उनीहरूलाई रोक्ने, उद्धार गर्ने र अवस्था नियन्त्रणमा ल्याउने प्रयासमा थिए । केही घण्टामै ती दृश्य संसारभरका सञ्चारमाध्यमको प्रमुख समाचार बने ।
तर वास्तविक कथा समुद्रमै टुंगिएन । सीमा विस्तारै शान्त भयो, धेरै आप्रवासी फर्किए । तर त्यससँगै अर्को लहर सुरु भयो– राजनीतिक लहर । आज बहस समुद्रमा होइन, ब्रसेल्समा भइरहेको छ । प्रश्न अब सीमा पार गरेका हजारौं आप्रवासीको मात्र छैन । प्रश्न यो पनि हो– स्पेनले अपनाएको आप्रवासन नीति सही थियो कि थिएन ? युरोपेली संघको बाह्य सीमा कसरी सुरक्षित राख्ने ? र सदस्य राष्ट्रहरूले आप्रवासनलाई एउटै दृष्टिकोणबाट हेर्न सक्छन् कि सक्दैनन् ?