बाढीपीडितका नाममा जथाभावी राहत नउठाउन झापा प्रशासनको आग्रह

nepalkuro.com

भद्रपुर — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका नाममा झापामा जथाभावी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

बाढीपीडितका लागि भन्दै जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले राहत तथा आर्थिक सहयोग सङ्कलन गर्न थालेपछि प्रशासनले सूचना जारी गर्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो।

प्रशासनले आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता यकिन गरेर मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।

बाढीपीडितका नाममा हुने अनधिकृत आर्थिक तथा राहत सामग्री सङ्कलनबाट रकम वा सामग्रीको दुरुपयोग हुन सक्ने भएकाले त्यसलाई रोक्न प्रशासनले यस्तो कदम चालेको जनाएको छ।

प्रशासनले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक माध्यमबाट मात्र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया