रसुवामा केही दिनअघि आएको भीषण बाढीको त्रास सेलाउन नपाउँदै फेरि बाढीको जोखिम बढेको छ। नेपाल–चीन सीमाक्षेत्रतर्फ पहिरो तथा हिमपहिरोका कारण नदीको बहाव रोकिएर बनेको अस्थायी तालमा पानीको मात्रा बढ्दै गएको र ताल ओभरफ्लो हुन थालेको खबर सार्वजनिक भएको छ।
नदी थुनिएर बनेको उक्त तालमा ठूलो परिमाणमा पानी जम्मा भएको बताइएको छ। पानीको सतह बढ्दै गएपछि तालको बाँध कमजोर भएर एक्कासि पानी तलतिर बगेमा भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने चिन्ता बढेको छ।
जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा उद्धार तथा खोजी कार्यमा समेत सतर्कता अपनाइएको छ। सम्भावित बाढीको असर कम गर्न सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।
यसअघि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेका बेला फेरि अर्को बाढीको सम्भावना देखिएपछि स्थानीयवासीमा थप त्रास सिर्जना भएको छ।