सुकुमवासीको उठिबास गराउने भने पनि सरकार समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढेको छ : सांसद विश्वकर्मा

nepalkuro.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रीमा विश्वकर्माले सरकारले सुकुमवासी समस्याको दीर्घकालीन समाधानतर्फ अगाडि बढेको बताएकी छन् । उनले सरकारले सुकुमवासीलाई लालपूर्जा दिने ऐतिहासिक काम गरेको भन्दै धन्यवाद दिइन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद विश्वकर्माले आफू सरकारलाई धन्यवाद दिनका लागि उभिएको बताएकी थिइन् । 'म भर्खरै मेरो जन्मभूमि बर्दिया पुगेर आएको छु र सरकारलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद सरकार ! भूमिहीन नागरिकको दशकौंदेखिको पीडालाई अन्त्य गर्ने ऐतिहासिक निर्णय अनुसार बर्दिया जिल्लामा ८२ परिवारले लालपूर्जा प्राप्त गरेका छन्,' उनले भनिन्, 'सामाजिक सञ्जालमा हाम्रो सरकारलाई सुकुमवासीको उठिबास गराउने सरकार भनेर प्रचार गरिए पनि वास्तविकतामा सरकार समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढेको छ ।'

सांसद विश्वकर्माले सबै नेपालीको समस्याको समाधान सरकारले एकैपटक गर्न नसक्ने भनिए पनि अभियान भने सुरुवात गरिएको बताइन् । 'अझै पनि देशैभर वास्तविक भूमिहीन, सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवास गर्ने लाखौं परिवार जग्गाधनी प्रमाणपूर्जाको प्रतिक्षामा छन् । देशभरबाट दर्ता भएका १२ लाख ४७ हजार चार सय ७९ निवेदनलाई कानुन बमोजिम प्रमाणीकरण गरियोस् । हुकुमवासीबाट वास्तविक सुकुमवासी छुट्याइयोस् । अधिकार पाउनुपर्ने एक जना पनि नागरिक नछुटुन् र अभियानले देशैभर निरन्तरता पाओस्,'  उनले भनिन्,  'देशभित्र र बाहिर रहेका २ करोड ९६ लाख जनताका पीडा एकैपटक सम्बोधन गर्न समभव नहोला तर लामो यात्राको सुरुवात एउटा दृढ पाइलाबाट हुन्छ । नेपाल सरकारले त्यो पाइला जनहीततर्फ अग्रसर गरेको छ, धन्यवाद सरकार ।'

प्रतिक्रिया