१० दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट जीवित उद्धार गरिएका कबीरको आईसीयूमा उपचार सुरु

nepalkuro.com

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवित उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ।

बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई घटनास्थलमै प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको हो। उनको उद्धारपछि आफन्तजन अस्पताल पुगेका छन्।

कबीरकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार तथा उपचारमा खटिएका नेपाली सेना, चिकित्सक टोली, आफन्तजन र सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन्।

उनका अनुसार हेलिकोप्टरबाट अस्पताल ल्याउँदा कबीरले सुरुमा आफन्तलाई समेत चिन्न सकेका थिएनन्। उनले ‘म कहाँ छु, मलाई के भएको हो ?’ भनेर मात्रै सोधेको हीराशोभाले जानकारी दिइन्।

कबीरको खोजीमा परिवारले विगत १० दिनदेखि दिनरात चिन्ता र पर्खाइमा बिताएको थियो। जीवित उद्धार भएको खबर र तस्बिर देखेपछि परिवारमा खुसीको आँसु आएको र सबै जना निकै भावुक बनेको हीराशोभाले बताइन्।

१० दिनसम्म सुरुङभित्र फसेर पनि जीवितै उद्धार भएका कबीरको उपचार अहिले चिकित्सकको निगरानीमा भइरहेको छ।

प्रतिक्रिया