गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन, सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै

nepalkuro.com

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने स्थानीयवासीको बाध्यता हट्दै गएको छ।

गाउँपालिकाले गत वैशाख १६ गतेदेखि अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो। हाल अस्पतालमा दैनिक २० जनाभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिइरहेका छन्। गाउँपालिकाका अनुसार जिल्लाका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालमध्ये सेवा सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको छ।

अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेब गरी १३ जना कर्मचारी कार्यरत छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालका लागि दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भएको छ।

सरकारले विसं २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति लिएपछि गन्यापधुरामा पनि अस्पताल निर्माण सुरु गरिएको थियो। अस्पताल निर्माणका लागि विसं २०७९ पुस ७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

गाउँपालिकाका सब–इन्जिनियर केशव साहुका अनुसार अस्पताल निर्माणको कुल लागत १५ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ। अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक, प्रयोगशाला र फार्मेसीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले प्रारम्भिक चरणमा सेवा सञ्चालन भइरहेकाले आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप गर्दै सेवा विस्तार गरिने बताए।

जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीका अनुसार अस्पताल सञ्चालनमा आएपछि सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको छ। रेडियोग्राफरसहित आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापनको तयारीसमेत भइरहेको उनले बताए।

‘एमबीबीएस चिकित्सक आएपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ,’ उनले भने, ‘आगामी दिनमा प्रयोगशाला, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्डलगायत सेवा थप गरी अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ।’

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. नमूना पुनका अनुसार उपचार सम्भव हुने बिरामीको अस्पतालमै उपचार भइरहेको छ। जटिल अवस्थाका बिरामीलाई भने एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गर्ने गरिएको छ।

अस्पतालमा अहिले मौसमी ज्वरो, झाडापखालालगायतका बिरामी बढी आउने गरेका छन्। प्रयोगशाला, प्रसूति तथा सामान्य स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा रहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र ईसीजी सेवा भने सञ्चालनमा आउन बाँकी रहेको डा. पुनले जानकारी दिइन्।

स्थानीयवासी चक्रबहादुर कार्कीले अस्पतालको सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि र आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने बताए।

‘आधारभूत अस्पतालमा उपलब्ध हुने सबै प्रकारका उपचारको व्यवस्था भए स्थानीयवासीलाई ठूलो राहत पुग्नेछ,’ उनले भने।

सरकारको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा समेत १० शय्याका अस्पताल निर्माण भइरहेका छन्।

प्रतिक्रिया