क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
वीरगञ्ज – क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई आफैं घटनास्थल पुगेर वीरगञ्ज–१४ गण्डकस्थित **गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो)**मा छापा मारेका हुन् ।
पर्सा प्रहरीले पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, वीरगञ्ज–११ का ३० वर्षीय चन्दन सहनी र ३९ वर्षीय ओमप्रकाश बैठा रहेको जनाएको छ ।
त्यस्तै वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन् ।
वीरगञ्ज–१४ गण्डकस्थित उक्त क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो । छापा मार्ने क्रममा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाइएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनालाई थप गम्भीर बनाउने तथ्यका रूपमा प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधन समेत बरामद गरेको छ । प्रहरीले ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको हो ।
सरकारी प्रयोजनका लागि प्रयोग हुने गाउँपालिकाको सवारी क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले त्यसलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरीका अनुसार गाउँपालिका अध्यक्ष यादव क्यासिनोमा रहेको समयमा उक्त सरकारी सवारी त्यहाँ पुगेको देखिएको छ ।
प्रहरीले घटनालाई नेपाली नागरिक क्यासिनोमा जुवा खेलिरहेको अवस्थाको नियन्त्रणमा मात्र सीमित नराखी थप प्रमाण संकलन थालेको जनाएको छ । प्रहरीले क्यासिनोबाट हार्डडिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको छ ।
नेपाली नागरिकलाई क्यासिनोमा कसरी प्रवेश गराइएको थियो, उनीहरूलाई कसले जुवा खेल्न सहजीकरण गरेको थियो तथा पक्राउ परेका व्यक्तिहरूको घटनामा के–कस्तो भूमिका थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरीक्षकसमेत पक्राउ
घटनामा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल पक्राउ परेपछि विषय थप चर्चामा आएको छ । एसपी भट्टराईले पौडेल पक्राउ परेको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार शनिबार राति ड्युटी सकेर पौडेल गाउँपालिका अध्यक्ष यादव र केही स्थानीय व्यवसायीसहित क्यासिनो पुगेका थिए । प्रहरीकै संरक्षणमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाइएको सूचना पाएपछि एसपी भट्टराई आफैं घटनास्थल पुगेको प्रहरीको भनाइ छ ।
एसपी भट्टराईका अनुसार प्रहरी निरीक्षक पौडेलले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीले नगदसहित पुरस्कृत गरेको थियो ।
पौडेल गत वर्ष असोजको अन्तिम साता प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट इलाका प्रहरी कार्यालय पोखरिया, वीरगञ्जमा सरुवा भएका थिए ।
पक्राउ परेकाहरूविरुद्ध थप प्रमाण संकलन गरी घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।