उद्धार र राहतको अनुगमन गर्न विशेष संसदीय समिति गठनको माग गर्ने एमालेको निर्णय

nepalkuro.com

काठमाडौं– नेकपा एमालेले बाढी–पहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी तथा सरकारलाई आवश्यक समन्वय र सहजीकरण गर्न विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारदेखि सञ्चालन हुने प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

बैठकले बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, बेपत्ताहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरिएको महरले बताए।

एमालेले आफ्ना प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।

प्रमुख सचेतक महरले बाढीपछि उद्धार कार्य प्रभावकारी हुन नसक्दा नागरिकको ज्यान जोगाउन सकिने अवसरसमेत गुमेको आरोप लगाए। एउटै घरबाट २२ जनाभन्दा बढीको शव निकालिनु तथा समयमै उद्धार हुन नसक्दा ५ देखि ७ दिनपछि मात्र शव फेला पर्नुले सरकारी संयन्त्रको कमजोरी देखिएको उनको भनाइ छ।

त्यस्तै, सुरुङ तथा विभिन्न स्थानमा अझै शवहरू अलपत्र अवस्थामा रहनु र परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिनु उचित नभएको महरले बताए।

उनले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकार थप जिम्मेवार र समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया