काठमाडौं– भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य एक सातासम्म पनि फेला नपरेपछि परिवारले अन्तिम संस्कार गरेको छ।
बाढीपछि पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी सम्पर्कविहीन भएका थिए। विभिन्न स्थानमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बुधबारदेखि अन्तिम संस्कारको प्रक्रिया अघि बढाएको हो।
पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत आफ्ना परिवारका सदस्यको खोजी गर्दा पनि नभेटिएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।
‘गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ,’ उनले लेखेका छन्।
पौडेलका परिवारको अन्तिम संस्कार काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिएको हो।
नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलको परिवार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएको थियो। पौडेलले यसअघि आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका थिए।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तथा तटीय क्षेत्र प्रभावित भएका छन्। विपद्पछि सुरक्षा निकाय तथा विभिन्न टोलीले बेपत्ताको खोजी तथा उद्धार जारी राखे पनि सबै बेपत्ताको अवस्था यकिन हुन सकेको छैन।
पौडेल रातोपाटी डटकममा कार्यरत पत्रकार हुन्।