काठमाडौं – फिल्म *‘पार्वती’*ले अपेक्षाअनुसार व्यापार गर्न नसकेपछि नायिका तथा निर्मात्री नीताले सामाजिक सञ्जालमा आफूलाई एक्लो महसुस भएको अभिव्यक्ति दिएकी छन्।
पहिलो साता प्रचार–प्रसार र हल भिजिटमा देखिने चहलपहल दोस्रो सातासम्म आइपुग्दा फिल्मको वास्तविक व्यापार देखिने गर्छ। कमजोर अकुपेन्सी भएका फिल्मको शोसमेत कटौती हुने भएकाले हल भिजिटको प्रभाव पनि सीमित हुने गरेको छ। *‘पार्वती’*को अवस्था पनि यस्तै देखिएको छ।
दर्शक भेट्न नेपालगञ्ज पुगेकी नीताले फेसबुकमा लेखेकी छन्, ‘म एक्लै छु । मेरो यात्रामा एक्लै उभिएकी छु । तर, तपाईंहरूको साथ, माया र हौसलाले मलाई निरन्तर ऊर्जा दिइरहेको छ ।’
नीताको यो अभिव्यक्तिलाई फिल्म क्षेत्रबाट अपेक्षित साथ नपाएको संकेतका रूपमा पनि बुझिएको छ। उनको पोस्टमा निर्माता तथा अभिनेता दीपकराज गिरीले टिप्पणी गर्दै निर्माताले फिल्म रिलिजको समयमा भोग्ने पीडातर्फ संकेत गरेका छन्। दीपकले लेखेका छन्, ‘यहाँ निर्माताको पीडा नै यही हो । जब चलचित्र रिलिजको मुखमा आउँछ, त्यसपछि ऊ लगभग एक्लै हुन पुग्छ । लड्ने एक्लै हो । तिम्रो मन राम्रो छ । राम्रो मान्छेलाई अन्ततः राम्रै हुन्छ ।’
तर, दीपकको यही टिप्पणीमा अर्का निर्माता तथा निर्देशक सन्तोष सेनले प्रतिक्रिया दिएपछि विषय थप रोचक बनेको छ। सन्तोषले लेखेका छन्, ‘उहाँलाई त प्रहार कसैले गरेनन् र यहाँ त आफ्नै क्षेत्रका मानिसहरू धात धोएर लाग्छन् । त्यो नि समूह बनाएर ।’
सन्तोषको यो टिप्पणीलाई दीपकराज गिरीसँगको पुरानो विवादसँग जोडेर हेरिएको छ।
दीपक र सन्तोषबीच किन बिग्रियो सम्बन्ध?
दीपक र सन्तोषबीचको सम्बन्ध पछिल्ला दुई वर्षदेखि राम्रो छैन। २०८१ सालको दसैँमा दीपकको फिल्म ‘छक्का पञ्जा ५’ र विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म *‘१२ गाउँ’*बीच बक्स अफिस प्रतिस्पर्धा भएपछि उनीहरूको विवाद सतहमा आएको थियो।त्यस समयमा दुवै फिल्मका समर्थकबीच सामाजिक सञ्जालमा तीव्र आरोप–प्रत्यारोप चलेका थिए। फिल्म हलबाट उत्रिएपछि दीपकले सन्तोषलाई लक्षित गर्दै ‘साइबर सेना कमान्डर’को आरोपसमेत लगाएका थिए।
२०८२ को दसैँमा सन्तोषको फिल्म ‘बलिदान’ प्रदर्शनमा आउँदा पनि उनीहरूबीचको विवाद पुनः देखियो। दीपकले आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने प्रवृत्ति रोक्नुपर्ने बताएका थिए। जवाफमा सन्तोषले दीपकमाथि नै साइबर सेना परिचालन गरेको आरोप लगाए।
त्यस क्रममा दुवैबीच सामाजिक सञ्जालमा कडा शब्दमा आरोप–प्रत्यारोप भएको थियो। सन्तोषले दीपकमाथि कटाक्ष गर्दै आक्रामक टिप्पणी गरेका थिए भने दीपकले पनि सन्तोषको व्यङ्ग्य र बौद्धिकतामाथि प्रश्न उठाएका थिए।
यसरी हेर्दा उनीहरूबीचको विवादको मुख्य कारण नेपाली फिल्म क्षेत्रमा देखिएको व्यावसायिक प्रतिस्पर्धा, सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र एकअर्काको फिल्मविरुद्ध समूह परिचालन गरिएको भन्ने आरोप रहेको देखिन्छ।यही पुरानो विवादको पृष्ठभूमिमा नीताको ‘म एक्लै छु’ भन्ने पोस्टमा दीपकले गरेको टिप्पणीमा सन्तोषको कटाक्षपूर्ण प्रतिक्रिया आएको हो। त्यसैले सामान्य देखिने कमेन्ट–रिप्लाईले पनि नेपाली फिल्म क्षेत्रका यी दुई निर्माताबीचको पुरानो जुहारीलाई फेरि चर्चामा ल्याएको छ।