भारतद्वारा नेपालमा ३५ टन राहत सामग्रीसहित आठौँ खेप पठाइयो

nepalkuro.com

काठमाडौं– नेपालमा गएको भीषण बाढीपछि भारतले ३५ टन राहत तथा उद्धार सामग्रीसहितको आठौँ खेप नेपाल पठाएको छ। भारतीय वायुसेनाको विमानमार्फत उक्त राहत सामग्री काठमाडौं आइपुगेको हो।

भारतले हालसम्म १३० टनभन्दा बढी राहत सामग्री नेपाल पठाइसकेको दैनिक भास्करले जनाएको छ।

नयाँ खेपमा टेन्ट, कम्बल, हाइजीन किट, सोलार ल्याम्प, औषधि तथा उद्धारका उपकरणहरू समावेश छन्। भारतले नेपालका बाढीपीडितका लागि राहत अभियान गत अगस्ट २६ बाट सुरु गरेको थियो।

राहत सामग्रीसँगै भारतले ५४ जना विशेषज्ञ समेत नेपाल पठाएको छ। उनीहरूमा सुरुङ उद्धार तथा फरेन्सिक विशेषज्ञहरू रहेका छन्।

विशेष उद्धार टोलीले नेपाली सेनासँगको सहकार्यमा चिलिमे र लाङटाङ क्षेत्रमा उद्धार अभियान सञ्चालन गरिरहेको छ। त्यस्तै, फरेन्सिक विशेषज्ञहरूले काठमाडौंस्थित दुईवटा प्रयोगशालामा डीएनए परीक्षण तथा शव पहिचानसम्बन्धी काममा सहयोग गरिरहेका छन्।

प्रतिक्रिया