भोटेकोशी बाढी : माथिल्लो त्रिशूली–१ आयोजनाका ५५७ जना अझै सम्पर्कविहीन

nepalkuro.com

काठमाडौं– भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले जनाएको छ।

कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मुख्य सिभिल संरचना निर्माणको सहायक ठेकेदार कम्पनी पावर चाइनाका ३८५ जना, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन छन्।

त्यस्तै, प्रवर्द्धक कम्पनीका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका ७ जना र मुख्य निर्माण ठेकेदार डुसानका ५६ जना समेत सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।

सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ। आयोजनाबाट भने हालसम्म ८७६ जनाको उद्धार गरिएको कम्पनीले जनाएको छ।

बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँधलगायत हेडवक्र्स संरचना, कार्यालय तथा आवास क्षेत्र पूर्णरूपमा बगाएको छ। बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो आयोजनास्थलमा प्रवेश गरेकाले त्यहाँ कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानमा जान नसकेको कम्पनीको भनाइ छ।

बाढी आउँदा आयोजनास्थलमा प्रवर्द्धक, परामर्शदाता, मुख्य निर्माण ठेकेदार तथा विभिन्न सहायक ठेकेदार कम्पनीका गरी १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए।

कम्पनीले विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम, थप पहिरोको सम्भावना तथा प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको जनाएको छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया