भोटेकोशी–त्रिशूली क्षेत्रबाट थप १३ जनाको उद्धार, अहिलेसम्म ३ हजार ९३५ जनाको उद्धार

nepalkuro.com

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद् प्रभावित क्षेत्रबाट बिहीबार रातिसम्म हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ। योसँगै नेपाली सेनाको हवाई साधनमार्फत हालसम्म २७३ जना विदेशी नागरिकसहित ३ हजार ९३५ जनाको सफल उद्धार गरिएको छ।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनाका टनेलमा विदेशी विज्ञ टोलीसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। लाङटाङ हाइड्रोको टनेलभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी भइरहेको छ। सो क्रममा दुई वटा शव फेला परेको सेनाले जनाएको छ।

त्यस्तै, चिलिमे, माथिल्लो त्रिशूली–१ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा एक्साभेटर तथा आवश्यक उपकरण प्रयोग गरी बाटो खुलाउने र खोजी गर्ने काम जारी छ। माथिल्लो त्रिशूली–१ को टनेलबाट थप एक शव फेला परेको जनाइएको छ।

६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले पाँच वटा एक्साभेटर, कम्प्रेसर तथा ब्रेकर प्रयोग गरी टनेलको आउटलेटबाट लेदो, ढुङ्गा र बालुवा हटाउँदै करिब ३० मिटर भित्रसम्म प्रवेश गरेको छ। टनेलभित्र भेटिएको ठूलो ढुङ्गा हटाउन ब्लास्टिङको कामसमेत भइरहेको छ।

यातायात आवागमन सहज बनाउन देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ जनाको इन्जिनियरिङ फौजले ‘एक्रो ब्रिज’ जडानका लागि बेस निर्माण सुरु गरेको छ। पुल जडानका लागि आवश्यक उपकरणहरू गजुरीबाट त्रिशूलीतर्फ लैजाने काम भइरहेको छ।

स्थानीय बासिन्दालाई सुरक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टर अधिकृतसहितको पैदल गस्ती टोलीसमेत परिचालन गरिएको छ। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म ३ हजार २१५ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज खोज तथा उद्धार, शव व्यवस्थापन र सडक खुलाउने कार्यमा प्रत्यक्ष रूपमा परिचालित रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया