बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कृष्णभिरसहित दर्जनौँ सडक अवरुद्ध
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको हो।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको परेवा भिरमा साना सवारीसाधन एक लेनमा सञ्चालन भइरहेका छन् भने कमेरेभिरमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–२ चिसापानीमा पनि पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबँसी खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। १० टनसम्मका मालवाहक सवारीसाधनलाई भने दिउँसोको समयमा सञ्चालन गर्न दिइएको छ।
रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन्। नुवाकोटको पासाङ ल्हामु सडकखण्ड (सिमटार) पनि अवरुद्ध छ भने टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कर्णाली प्रदेशको मुगु–गमगढी सडकखण्डअन्तर्गत छायाँनाथ रारा–४ ताल्चामा पहिरोका कारण यातायात बन्द भएको छ।
लुम्बिनी प्रदेशमा रोल्पाको सहिदमार्ग तथा घोराही–थवाङ सडकखण्ड र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
प्रहरीले वर्षा तथा बाढी–पहिरोको जोखिम कायम रहेकाले राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।