लुभुमा ४५ वर्षदेखि बलिरहेको प्राकृतिक ग्यास, स्थानीयको भान्सा चल्दै
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
ललितपुर– महालक्ष्मी नगरपालिका–८ लुभुमा जमिनमुनिबाट निस्किएको ग्यास वर्षौंदेखि निरन्तर बलिरहेको छ। आसपासको बस्ती बाक्लिँदै गए पनि खाली जमिनमा निस्किरहेको यही ग्यास स्थानीयका लागि निःशुल्क खाना पकाउने माध्यम बनेको छ।
ग्वार्कोबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको लुभुमा गोदावरी खोलाबाट देब्रेतर्फ करिब पाँच सय मिटर अघि बढेपछि यस्तो दृश्य देखिन्छ। नयाँ घरहरू बनिरहेका बस्तीबीचको खाली जमिनमा ठूला–साना ढुङ्गा असरल्ल छन्। त्यही ढुङ्गामाथि चियादानी र कुकर राखेर स्थानीयले दैनिक खाना पकाउने गरेका छन्।
एउटा चियादानीमा पानी उम्लिरहेको हुन्छ भने अर्कोमा चिया पाकिरहेको हुन्छ। कुकरमा सिट्ठी लागिरहेको हुन्छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएका बेला समेत यहाँ स्थानीयले जमिनबाट निस्किएको ग्यास निःशुल्क प्रयोग गर्दै आएका छन्।
हुम्ला घर भई लुभुमा भाडामा बस्दै आएकी अनिता जैशीका अनुसार आफूले लामो समयदेखि यही ग्यास प्रयोग गर्दै आएकी छन्।
‘यसरी खाना पकाएको धेरै भयो। खुला जमिनमा २४ घण्टा आगो बलिरहन्छ। यसैमा खाना पकाएर घरमा लगेर खान्छौँ,’ उनले भनिन्।
उनका अनुसार बिहान–बेलुका दाल, गेडागुडी तथा अन्य परिकार पकाउन यो ग्यास पर्याप्त हुन्छ। आसपासका धेरै परिवार पनि साँझ–बिहान भाँडाकुँडा बोकेर यही ठाउँमा खाना पकाउन आउने गरेका छन्।
‘हामी साँझ–बिहान मात्रै पकाउँछौँ। एक जना दिदीले त दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नुहुन्छ,’ जैशीले भनिन्।
चार जनाको परिवारलाई बिहान–बेलुका दाल, भात र तरकारी पकाउन पुग्ने ग्यास रहेको उनको भनाइ छ। राजधानीमै यस्तो ग्यास वर्षौंदेखि खेर गइरहे पनि सरकारले यसको सदुपयोगमा ध्यान नदिएको स्थानीयको गुनासो छ।
४५ वर्षदेखि निरन्तर बलिरहेको आगो
ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जनका अनुसार लुभुमा जमिनबाट निस्किएको ग्यासमा करिब ४५ वर्षदेखि आगो बलिरहेको छ। बाल्यकालदेखि नै आफूले यहाँ आगो बलिरहेको देख्दै आएको उनले बताए।
‘न घाम, न पानी, न हुरी, न आँधी–यो आगो निरन्तर बलिरहेको छ,’ महर्जनले भने, ‘पहिले यहाँ पूरै घारी थियो, अहिले घर बन्न थालिसके। ग्यास निरन्तर बलिरहँदा बस्तीका लागि जोखिम पनि भयो।’
उनका अनुसार घरमा एलपी ग्यास किन्नुपर्ने भए पनि यहीँ निःशुल्क ग्यास उपलब्ध छ। यसको वैज्ञानिक अध्ययन गरेर उपयोग गर्न सके स्थानीयलाई ठूलो सुविधा पुग्ने उनको भनाइ छ।
अध्ययन भए पनि व्यावसायिक उत्पादनको सम्भावना देखिएन
महालक्ष्मी नगरपालिका–८ का वडाध्यक्ष विश्वराज श्रेष्ठका अनुसार लुभुमा ग्यास निस्किएको विषयमा विभिन्न निकायले अध्ययन गरिसकेका छन्। तर, ग्यास निकालेर व्यावसायिक रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्ष आएपछि थप काम अघि बढ्न नसकेको उनले बताए।
‘आगो निस्किएको धेरै भयो। अध्ययन पनि धेरै भयो। तर ग्यास निकाल्न मिल्दैन भन्ने निष्कर्ष सार्वजनिक भए,’ उनले भने, ‘जग्गाधनी पनि यहाँ छैनन्। त्यही भएर अलि अप्ठ्यारो भएको छ। म यसबारे फेरि खानी तथा भूगर्भ विभागमा बुझ्छु।’
वडाध्यक्ष श्रेष्ठका अनुसार पहिलो कार्यकालदेखि नै लुभुको ग्यासको सम्भाव्यता र सदुपयोगका लागि पहल भए पनि ठोस काम हुन सकेको छैन।
उनका अनुसार पहिले यहाँ रहेको इँटा कारखानाका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो। विसं २०७२ को भूकम्पपछि यहाँ खाना तथा चिया पकाउन आउनेको भीडसमेत बढेको थियो।
‘विभिन्न अध्ययनले व्यावसायिक उत्पादन हुँदैन भनेपछि बन्द गर्न खोजिएको थियो। पाइप राखेर मिलाएका थियौँ। तर मान्छेहरू गएर बिगारिदिन्छन्,’ उनले भने।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले खानी तथा भूगर्भ विभागबाट यहाँ निस्किएको ग्यास भण्डारण गर्न नमिल्ने जानकारी आएपछि त्यसबारे थप काम अघि नबढाइएको बताए।
उनका अनुसार लुभुको वडा नं. ८ मा मात्रै नभई आसपास बोरिङ खन्दा पनि ग्यास निस्कने गरेको छ।
‘अस्ति पनि डिप बोरिङ गर्दा खोलाको किनारमा ग्यास निस्किएको थियो। यो ठाउँमा किन यस्तो हुन्छ भनेर गहिरो अध्ययन गर्न आवश्यक छ,’ उनले भने।
‘यो व्यावसायिक रूपमा प्रयोग गर्न मिल्ने ग्यास होइन’
खानी तथा भूगर्भ विभाग, पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार जमिनबाट प्राकृतिक रूपमा ज्वलनशील ग्यास निस्कनु भूगर्भीय प्रक्रियासँग सम्बन्धित हुन सक्छ। तर, कुनै स्थानमा ग्यास बलिरहेको देखिँदैमा त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सकिने निष्कर्ष निकाल्न नमिल्ने उनले बताए।
‘व्यावसायिक उत्पादन र उत्खननका लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण, भण्डारको अनुमान तथा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ,’ खड्काले भने।
उनका अनुसार विसं २०७२ को भूकम्पपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जमिनबाट यस्तै ग्यास निस्किएको थियो। बालुवा र पानी भएको क्षेत्रमा जमिनमुनि थोरै मात्रामा ग्यास जम्मा हुने र इनार खन्दा, नदी किनार तथा खोँचमा बाहिर निस्कने गरेको उनले बताए।
लुभुमा निस्किएको ग्यास पनि बायोजेनिक ग्यास हुन सक्ने उनको भनाइ छ। दैलेख क्षेत्रमा पाइने थर्मोजेनिक ग्यासभन्दा उपत्यकामा देखिएको ग्यास फरक रहेको उनले बताए।
खड्काका अनुसार काठमाडौं उपत्यकामा पाइने यस्तो बायोजेनिक ग्यासलाई व्यावसायिक रूपमा उत्खनन तथा प्रयोग गर्न सकिँदैन।
‘काठमाडौं उपत्यकाको बाक्लो बस्तीमा भेटिएको बायोजेनिक ग्यास व्यावसायिक रूपमा प्रयोग गर्न मिल्दैन। यसको प्रयोगले समस्या ल्याउन सक्छ,’ उनले भने।
उनका अनुसार काठमाडौंको टेकुलगायत उपत्यकाका अन्य स्थानमा समेत यस्तै ग्यास निस्किएको थियो। कतिपय स्थानमा स्थानीयले केही समय प्रयोग गरे पनि पछि बन्द भएको उनले बताए।
वैज्ञानिक अध्ययनको माग
लुभुका स्थानीयले भने ग्यासको प्रकृति, मात्रा र सम्भावनाबारे पुनः वैज्ञानिक अध्ययन गर्न सरकारसँग माग गरेका छन्।
बाबुकाजी महर्जनले आफूले दशकौँदेखि निरन्तर ग्यास बलिरहेको देखेको भन्दै यसको विस्तृत अनुसन्धान गर्न सरकारलाई आग्रह गरे।
‘जमिनबाट निस्किएको ग्यासमा वर्षौंदेखि स्थानीयको खाना पाकिरहेको छ। यो विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भने।
स्थानीयका अनुसार व्यावसायिक रूपमा ग्यास उत्पादन गर्न सम्भव नभए पनि क्षेत्रको संरक्षण र पर्यटकीय सम्भावनाको उपयोग गर्न सकिन्छ। तर, बस्ती विस्तार भइरहेका बेला जमिनमुनिबाट निरन्तर ग्यास निस्किरहेको स्थानको सुरक्षा र संरक्षणमा भने सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
बस्ती बाक्लिँदै जाँदा वर्षौंदेखि निरन्तर बलिरहेको आगो स्थानीयका लागि सुविधा मात्रै नभई सम्भावित जोखिमको विषयसमेत बन्दै गएको छ।