रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच सोमबार टेलिफोन वार्ता भएको छ।
रास्वपाका अनुसार टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएका थिए।
वार्तामा सभापति लामिछानेले नेपाल सरकारले अघि बढाइरहेको खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको जानकारी गराएका थिए।
लामिछानेले हालैको बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको समेत बताएका थिए। कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि उनले विदेशमन्त्री रुबियोलाई धन्यवाद दिएका थिए।
यसैबीच विदेशमन्त्री रुबियोले बाढी प्रभावितका लागि नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएको रास्वपाले जनाएको छ।