चुमनुब्रीमा बाढीको वितण्डा : दुई पुल र दुई जलविद्युत् आयोजना बगायो
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ । बाढीले पुल तथा जलविद्युत् आयोजना बगाएपछि चुमनुब्रीवासीको आवतजावत र जनजीवन प्रभावित भएको छ ।
स्थानीय लाक्पा डुण्डुप लामाका अनुसार पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल बगाएको हो । थेराङ खोलामा आएको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने बूढीगण्डकीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुलसमेत बगाएको छ ।
पुल बगेपछि स्थानीयलाई गाउँबाट माथि तथा तल आवतजावत गर्न समस्या भएको छ । ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो । कतै जान पनि नमिल्ने भयो,’ स्थानीय लामाले बताए ।
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ । हालै करिब सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भई परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना र यसअघि सञ्चालनमा रहेको २२ किलोवाटको आयोजना बाढीले बगाएको स्थानीयले बताएका छन् ।
जलविद्युत् आयोजना नष्ट भएपछि गाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवासमेत प्रभावित भएका छन् ।
पुल बगेसँगै मनास्लु क्षेत्रमा सुरु हुन लागेको पर्यटक आवागमनसमेत प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगेपछि आवतजावतमा समस्या परेका छन् ।
यसैबीच, पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाढीले नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको हो ।
वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार बाढी आउँदा गाउँ नै भूकम्प आएजस्तो गरी थर्किएको थियो । स्थानीयहरू बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
बाढीबाट घर गुमाएका चार परिवारलाई तत्काल अल्पकालीन राहत उपलब्ध गराउने तयारी गरिएको छ । वडाध्यक्ष लामाका अनुसार पीडित प्रत्येक परिवारलाई खाद्यान्न तथा लत्ताकपडाका लागि तत्काल २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ ।
त्यस्तै, केही दिनभित्र गाउँपालिकाको तर्फबाट प्रत्येक परिवारलाई एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने तयारी गरिएको उनले बताए । अन्य निकायबाट समेत राहत उपलब्ध गराउन पहल गरिने वडाध्यक्ष लामाले जानकारी दिए ।