प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले चीन र भारत सरकारसँग आवश्यक सहयोग मागेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयमार्फत दुवै छिमेकी मुलुकसँग समन्वय भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि चीन र भारत सरकारसँग समन्वय भइरहेको छ। दुवै देशबाट आवश्यक सहयोग गर्ने जानकारी प्राप्त भएको उनले बताए।
मन्त्री पोख्रेलले भने, ‘चीन र भारत सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत समन्वय भइरहेको छ। चीन र भारतले आवश्यक सहयोग गर्ने जानकारी आएको छ।’
रसुवासहितका विभिन्न क्षेत्रमा बाढीले ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि सरकारले उद्धार, राहत र पुनःस्थापनाका लागि आन्तरिक स्रोत परिचालनसँगै छिमेकी मुलुकसँग पनि सहयोग र समन्वय अघि बढाएको हो।