अपाङ्गता भएकी १७ वर्षीया अस्मिताले घरमै पाइन् नेपाली नागरिकता
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी १७ वर्षीया अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। ‘क’ वर्गको अपाङ्गता भएकी पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन्।
मानसिक अपाङ्गताका कारण अस्मितालाई जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन कठिनाइ हुँदै आएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी बिहीबार उनको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।
सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्। नागरिकता प्राप्त गरेपछि अस्मिताले सरकार तथा स्थानीय तहबाट अशक्त नागरिकका लागि उपलब्ध हुने विभिन्न सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्नेछिन्।
जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका दशवटै स्थानीय तहले नागरिकता लिने उमेर पुगेका तर शारीरिक अशक्तता वा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण संकलन गरिरहेका छन्।
“दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण संकलन गरिरहेका छन्,” उनले भनिन्, “सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको घरमै पुगेर नागरिकता वितरण गर्दै आएका छौँ।”
घरमै पुगेर नागरिकता प्रदान गर्ने यो सेवाले कार्यालयसम्म पुग्न नसक्ने अशक्त तथा अपाङ्गता भएका नागरिकलाई सरकारी सेवा लिन सहज हुनुका साथै राज्यबाट प्राप्त हुने अधिकार र सुविधामा उनीहरूको पहुँच बढाउने अपेक्षा गरिएको छ।