ललितपुर– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी १५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
सम्पर्कविहीनमध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । हाल ११५ पुरुष, ३९ महिला र तीन बालकको खोजी भइरहेको प्रजिअ घिमिरेले बताउनुभयो ।
बेपत्ता भएकामध्ये अन्य जिल्लाको स्थायी ठेगाना भएर ललितपुरमा बसोबास गर्ने ९९ जना छन् । उनीहरूमा ८१ पुरुष, १७ महिला र एक बालक रहेका छन् । यस्तै, बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ जना विदेशी नागरिक समेत हराइरहेका छन् ।
बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक रहेका छन् । उनीहरूमध्ये युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना रहेको प्रशासनले जनाएको छ ।
यस्तै, बाढीमा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये २० पुरुष, तीन महिला र एक बालिका रहेका छन् । उपचारपछि २२ जना घर फर्किसकेका छन् ।
हाल एक पुरुषको ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने घाइते बालिकाको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका एक महिला र एक पुरुष गरी दुई जनाको शव परिवारको जिम्मा लगाइएको समेत उहाँले बताउनुभयो।