त्रिशूली–३ बीका बेपत्ताको खोजी तीव्र बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेको भन्दै उनीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकारसँग माग गरेका हुन्।
प्रदर्शनमा सहभागी परिवार तथा आफन्तले बेपत्ताहरूको तस्वीरसहितका ब्यानर बोकेका थिए। ब्यानरमा ‘धैर्यताको सीमा नाघेको’ उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको जनाइएको थियो।
उनीहरूले बाढीका कारण आफन्त गुमाउनुपरेको पीडा व्यक्त गर्दै उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोजी कार्यलाई उच्च प्राथमिकतामा राख्न माग गरेका छन्। बेपत्ताको खोजीमा भइरहेको ढिलाइले आफूहरू मानसिक पीडा र थप चिन्तामा परेको उनीहरूको भनाइ छ।
परिवार तथा आफन्तले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति र सुरक्षा संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्। साथै, बेपत्ता व्यक्तिको यथाशीघ्र खोजी गरी उनीहरूको अवस्थाबारे परिवारलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
बाढीपछि विभिन्न प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहे पनि कतिपय व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ।