भोटेकोशी बाढीको १०औँ दिनसम्म ३ हजार २ सयभन्दा बढी नेपाली र २७० विदेशीको उद्धार

nepalkuro.com

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धार कार्य तीव्र पारिएको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा खोज, राहत तथा उद्धार गरिरहेका छन्।

नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार बाढी आएको १०औँ दिनसम्म ३ हजार २ सयभन्दा बढी नेपाली नागरिक तथा २ सय ७० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको छ।

प्रभावित क्षेत्रका सातवटै टनेलमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। त्रिशूली–३ ‘ए’ को टनेलभित्र १७० मिटरसम्म प्रवेश गरी दुई जना नेपाली नागरिकलाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। अन्य व्यक्तिको खोजी कार्य भने जारी छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ को टनेलभित्र ३० मिटरसम्म प्रवेश गरी माटो तथा लेदो हटाउने काम भइरहेको छ। रसुवागढीको टनेलमा २७५ मिटरसम्म प्रवेश गरेर खोजी तथा उद्धार कार्य अघि बढाइएको महासेनानी रेश्मीले जानकारी दिए।

उनका अनुसार विदुरको इन्द्रेणीघाटमा तुइन सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा अर्को तुइन निर्माण भइरहेको छ। साथै, विभिन्न स्थानमा बेलिब्रिज निर्माणको कामसमेत सुरु गरिएको छ।

हवाई उद्धारका अतिरिक्त रसुवा र धुन्चेका विभिन्न १९ स्थानमा जमिनमै फौज परिचालन गरी खोजी, उद्धार तथा राहत वितरणको काम निरन्तर भइरहेको सेनाले जनाएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीसँग छलफल गरी आवश्यकता पहिचान भएका स्थानमा अत्यावश्यक सामग्री ढुवानी सुरु गरिएको बताए।

नुवाकोटलाई केन्द्र बनाएर रसुवालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य आवश्यक उपकरण वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

रेग्मीका अनुसार राहत सामग्री ढुवानी तथा वितरणका लागि दुईवटा हेलिकप्टर ‘डेडिकेटेड’ रूपमा परिचालन गरिएको छ। शव व्यवस्थापन तथा सम्बन्धित कार्यका लागि थप दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको उनले बताए।

बाढीका कारण अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय गरी साना तथा ठूला सवारीसाधन सञ्चालनयोग्य बनाउन तीव्र गतिमा काम भइरहेको छ। बेत्रावतीलगायत आवश्यक स्थानमा बेलिब्रिज राख्ने कामसमेत अघि बढाइएको रेग्मीले बताए।

विपद् प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षमता तथा स्रोतअनुसार समन्वय गरी खोज, उद्धार, राहत र पुनःस्थापनाका कामलाई अघि बढाइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

प्रतिक्रिया