सूर्यविनायक नगरपालिकाले बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने

nepalkuro.com

भक्तपुर — भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने भएको छ।

नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न नगरपालिकाले आफ्नो विपद् कोषबाट रकम दिने निर्णय गरेको नगर प्रमुख थापाले बताए।

उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने भन्दै नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थालाई समेत सहयोगका लागि अघि आउन आग्रह गरेका छन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार राहत कोषमा जनप्रतिनिधिहरूले समेत व्यक्तिगत रूपमा योगदान गर्ने निर्णय भएको छ। नगर प्रमुखले ३५ हजार, उपप्रमुखले १५ हजार, वडाध्यक्षहरूले प्रतिव्यक्ति १० हजारका दरले कुल एक लाख रुपैयाँ, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ६ हजार तथा वडा सदस्यहरूले प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले रकम उपलब्ध गराउने भएका छन्।

नगरपालिकाले राष्ट्रिय विपद्को यस घडीमा सरकारी सहयोगसँगै नागरिकस्तरबाट हुने सहयोगले प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनामा थप बल पुग्ने जनाएको छ।

प्रतिक्रिया