भोटेकोसी बाढी : रसुवामा १२ जनाको हेलिकोप्टरबाट उद्धार, १२ वटा हेलिकोप्टर परिचालन

nepalkuro.com

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सेनाका अनुसार रसुवाको स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।

उद्धारसँगै बाढी प्रभावितको स्वास्थ्य उपचारलाई पनि प्राथमिकता दिइएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।

भोटेकोसीमा आएको बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। प्रभावित नागरिकको उद्धार तथा आवश्यक स्वास्थ्य उपचारका लागि थप समन्वय र प्रयास भइरहेको छ।

प्रतिक्रिया