बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श, उद्धार र राहतलाई तीव्रता दिन निर्देशन

nepalkuro.com

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका संघीय सांसदसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए।

बैठकमा बाढीले पुर्‍याएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पारेको असर, स्थानीयवासीको अवस्था तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

त्यसअघि प्रधानमन्त्री शाहले बुधबार नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।

बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतका लागि पूर्ण प्रतिबद्धताका साथ खटिएको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए।

सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणलाई थप प्रभावकारी बनाउने गरी सरकारी संयन्त्र परिचालन भइरहेको जनाइएको छ।

प्रतिक्रिया