‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो’ : सहिद परिवारलाई सांसद सुनारको भावुक सम्बोधन
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई भावुक सम्बोधन गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनारले सहिदका आमाहरूले आफ्ना छोराको मृत्यु भएको नभई देशमा नयाँ परिवर्तनको बीउ रोपिएको सम्झनुपर्ने बताए।
‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्यो, म एक्लो परेँ। हैन आमा, तिम्रो छोरो मरेको हैन, ऊ त यो देशमा यस्तो बीउ बनेर रोपिएको छ, त्यहीँबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ,’ उनले भने।
सबै आमालाई सम्बोधन गर्दै उनले सहिद जन्माउने आमाहरूको योगदानप्रति सम्मान व्यक्त गरे।
‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले बास गरेको हो। आफ्नो गर्भलाई धन्यवाद भन। म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु। स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो,’ उनले भने।
सांसद सुनारले सहिदका आमाहरूको त्यागलाई देशको परिवर्तनसँग जोड्दै भने, ‘प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’
आफू आलो काँचो भए पनि कुहिएको नभएको उल्लेख गर्दै सुनारले आगामी दिनमा सुखले बाँच्ने अवस्था आउने बताए। उनले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा सुशासन र समृद्धि कायम गर्नुपर्नेमा जोड दिए।