कांग्रेस इतर समूहको बैठक आज, १५औँ महाधिवेशन तयारीबारे छलफल हुने
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । १५औँ केन्द्रीय महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न इतर समूहले बैठक बोलाएको हो ।
इतर समूहको बैठक दिउँसो १ बजे चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीन वटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य र आमन्त्रित सदस्यलाई समेत बोलाइएको छ ।
कांग्रेसको संस्थापन पक्षले भने यसअघि नै १५औँ महाधिवेशनको मिति तय गरिसकेको छ । कांग्रेस केन्द्रीय समितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णयलाई यथावत् राखेको छ ।
इतर समूहको आजको बैठकमा महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने विषयसँगै पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था र महाधिवेशनको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।