सुदूरपश्चिममा गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ मनाइँदै

nepalkuro.com

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ मनाइँदै छ। अठ्यावाली अर्थात् अष्टमीको दिन गौरा पर्वको मुख्य दिनका रूपमा मनाउने गरिन्छ।

आज गौरा हुने स्थानमा गौरा महेश्वर स्थापना गरेपछि व्रतालु महिलाले अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा–अर्चना गर्ने गर्छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ की व्रतालु रतनादेवी भट्टका अनुसार अठ्यावालीमा गौराको जन्मदेखि विवाहपछिसम्मका कथावस्तु प्रस्तुत गरिन्छ। यस क्रममा गौरीको जीवनका विभिन्न घटनाको वर्णन गरिन्छ।

“यो पर्व परम्परादेखि नै चलिआएको पर्व हो। व्रत बसेर गौरा महेश्वरको पूजा गर्छौं,” उनले भनिन्, “पूजा सकिएपछि बिरुडाले परिवारका सदस्यको टाउको पूजन गरेर आशीर्वाद दिने गर्छौँ।” उनका अनुसार आजकै दिन व्रतालु महिलाले दुबधागोसमेत धारण गर्छन्।

दुबधागोलाई महिलाको यज्ञोपवीतका रूपमा लिइन्छ। सुतीको रातो धागोमा पहेँलो र कालो पारी सुन्दर बनाइएको दुबधागोमा दुई पाला हुने गर्छन्। यसमा प्रयोग हुने रातो, पहेँलो र कालो रङलाई क्रमशः महालक्ष्मी, महासरस्वती र महाकालीको प्रतीकका रूपमा मान्ने गरिएको छ।

व्रतालु कौशिला भट्टका अनुसार प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वती (गौरी)लाई गौरा देवीका रूपमा पूजाअर्चना गरिँदै आएको छ।

“पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको व्रत मिल्छ। त्यसपछि भाद्र पञ्चमीका दिनदेखि बिरुडा भिजाएर विधिवत् रूपमा गौरा सुरु हुन्छ,” उनले भनिन्। पञ्चमीका दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गर्छन्। बिरुडा भिजाउने क्रममा महिलाले माङ्गलिक फागसमेत गाउने गर्छन्।

षष्ठीका दिन न्वाला वा धारामा गई बिरुडा धुने परम्परा छ। सप्तमीका दिन गौरा देवीलाई गौरा घरमा भित्र्याएर विशेष पूजाअर्चना गरिन्छ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भन्ने गरिन्छ।

गौरा विशेषगरी सुदूरपश्चिम क्षेत्रका महिलाले उपासना गर्ने पर्व हो। विवाहित महिलाले आफ्नो कुलपरम्पराअनुसार पुरुषले जस्तै यज्ञोपवीतका रूपमा दुबधागो लगाउने प्रचलन रहेको जैमति भट्टले बताइन्।

अठ्यावालीपछि दुई–तीन दिनसम्म स्थानीय देवीदेवताका मन्दिरमा महिलाले देउडा खेल्ने तथा पुरुषले ढोलक र मिजुराका साथ ढुस्को, धमारी, चैत तथा देउडा खेल खेल्ने गर्छन्। विशेषगरी रामायण तथा महाभारतकालीन कथावस्तुमा आधारित ढुस्को, धमारी, चैत तथा स्थानीय देवीदेवता र इतिहाससँग जोडिएका कथानक बोकेका गाथा समूहमा प्रस्तुत गरिन्छ।

गौराको पूजाअर्चनाले श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी र दीर्घायु हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने जनविश्वास छ।

नारीलाई विशेष सम्मानका साथ मनाइने गौरा पर्व धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पर्वका रूपमा गौराको विशेष महत्व रहेको छ।

प्रतिक्रिया