ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)हरूलाई पत्राचार गर्दै ऋण असुलीका नाममा ऋणीमाथि गैरकानुनी गतिविधि गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
गृह मन्त्रालयले सहमतिको बुँदा नम्बर ८ उल्लेख गर्दै ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने लगायतका गैरकानुनी कार्य भएमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने जनाएको छ ।
यस्ता गतिविधिबारे उजुरी परेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत मन्त्रालयले सिडिओ कार्यालयलाई निर्देशन दिएको छ ।
भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकार र नागरिक बचाउ महाअभियानबीच भएको द्विपक्षीय सहमति ग्रहण गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौ १८ गते सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो ।
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच भदौ ६ गते द्विपक्षीय सहमति भएको थियो ।