नेपालगन्जको राधाकृष्ण मन्दिरको दान रकम बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा

nepalkuro.com

नेपालगन्ज – नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा सङ्कलन भएको दान रकम बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

मन्दिरका दुईवटै दानपेटी खोल्दा ३७ हजार ८०८ रुपैयाँ सङ्कलन भएको र उक्त सम्पूर्ण रकम रसुवाका विपद् पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालले जानकारी दिए ।

उनका अनुसार जन्माष्टमीका दिन धार्मिक आस्था र भक्तिभावका साथ पूजा–आराधना गर्नुका साथै देशमा गएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । पूजाअर्चनाका क्रममा देशमा सुख, शान्ति र समृद्धिको सामूहिक कामनासमेत गरिएको थियो ।

भक्तजनबाट सङ्कलन भएको दानदक्षिणालाई विपद्को यस घडीमा सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने उद्देश्यले राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बैंक खुलेपछि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया