नेपाल ‘ए’ को अस्ट्रेलिया भ्रमणको अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ

nepalkuro.com

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । डार्विनस्थित मरारा ओभल मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आजको खेलमा न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै अस्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । जारी एकदिवसीय शृङ्खलाका अघिल्ला दुवै खेलमा नेपाल पराजित भएको थियो ।

यसअघि नेपाल तास्मिनियासँग २ विकेट र दक्षिण अस्ट्रेलियासँग १३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल आत्मविश्वासका साथ भ्रमणको अन्त्य गर्न चाहन्छ ।

आजको खेलका लागि नेपाली टोलीको प्लेइङ–११ मा एक परिवर्तन गरिएको छ । नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई टोलीमा समावेश गरेको छ ।

चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल भने आजको खेलमा पनि प्लेइङ–११ मा परेका छैनन् । नेपालले युवा खेलाडीलाई अवसर दिँदै न्युजिल्यान्ड ‘ए’ विरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया